रसुवा भन्सार कार्यालय, टिमुरेले चीनबाट आयात गरिएका व्यावसायिक सामग्रीको जाँचपास प्रक्रिया अस्थायी रूपमा रोकिएको छ। उपभोक्ता हितसँग सम्बन्धित कानुनी व्यवस्था उल्लङ्घन भएको पाइएपछि यस्तो निर्णय गरिएको भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालयका अनुसार आयात गरिएका खाद्य तथा गैरखाद्य वस्तुहरूमा उपभोक्ताका लागि अनिवार्य गरिएको अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गरिएको स्टिकर नटाँसिएको अवस्थामा भेटिएपछि जाँचपास प्रक्रिया रोकिएको हो।
नेपालको प्रचलित कानुनअनुसार कुनै पनि उपभोग्य वस्तु आयात गर्दा उपभोक्ता संरक्षणका लागि प्रत्येक प्याकेटमा एमआरपी स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था छ। तर आयातकर्ता व्यवसायीहरूले उक्त नियम पालना नगरी सामग्री भित्र्याएको पाइएको छ।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार नियम विपरीत ल्याइएका सामग्रीको भन्सार मूल्याङ्कन तथा जाँचपास प्रक्रिया रोकिएको हो। उनले उद्योग तथा जलविद्युत् आयोजनासँग सम्बन्धित सामग्री भने आवश्यक प्रक्रिया पूरा गरी जाँचपास भइरहेको जानकारी दिएका छन्।
भट्टराईले उपभोक्ता हित संरक्षणका लागि सबै सरोकारवालाले कानुनको पालना गर्नुपर्ने उल्लेख गर्दै चीनबाट आयात हुने प्रत्येक वस्तुमा एमआरपी अनिवार्य रूपमा उल्लेख गरेर मात्र ल्याउन आग्रह गरेका छन्।
एमआरपी स्टिकर बिना आएका सयौँ ट्रक मालसामान हाल भन्सार परिसरमै रोकिएपछि आयात प्रक्रिया केही समय प्रभावित हुने देखिएको छ। यद्यपि, यसले दीर्घकालमा उपभोक्ता अधिकार संरक्षण र बजार पारदर्शितामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
