मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी सुरक्षा बेस क्याम्प अझै पुनः सञ्चालनमा आउन सकेको छैन। जेन्जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएपछि बन्द गरिएको उक्त सशस्त्र प्रहरी बलको क्याम्प हालसम्म पनि निष्क्रिय अवस्थामा रहेको हो।
२०६४ सालमा स्थापना भएको यस क्याम्पमा करिब १५ जना सशस्त्र प्रहरी खटिने गरेका थिए। क्याम्प सक्रिय रहँदा यस क्षेत्रमा चोरी, झै–झगडा, सामाजिक विवाद तथा लागुऔषधसम्बन्धी गतिविधि नियन्त्रणमा सहजता भएको स्थानीयको भनाइ छ।
तर क्याम्प बन्द भएपछि स्थिति असहज बन्दै गएको स्थानीय र भुटानी शरणार्थी समुदायको गुनासो छ। उनीहरूका अनुसार पछिल्ला दिनमा लागुऔषध प्रयोग तथा ओसारपसार, आपराधिक गतिविधि र सामाजिक असुरक्षा बढ्दै गएको छ। यसले विशेषगरी क्याम्प आसपास बसोबास गर्ने शरणार्थी समुदाय त्रासमा रहेको उनीहरू बताउँछन्।
स्थानीयवासीका अनुसार उक्त क्षेत्र भौगोलिक रूपमा संवेदनशील मानिन्छ। खुला बस्ती संरचना, सीमावर्ती आवागमनको प्रभाव र सुरक्षा निगरानी कमजोर हुँदा जोखिम थपिएको उनीहरूको भनाइ छ।
क्याम्प पुनः सञ्चालनका लागि स्थानीय र शरणार्थी समुदायले जिल्ला प्रशासन कार्यालयदेखि सशस्त्र प्रहरी मुख्यालयसम्म पटक–पटक ध्यानाकर्षण गराइसकेका छन्। अन्य स्थानमा पुनर्निर्माणपछि सुरक्षा निकाय फर्किए पनि यहाँ भने कुनै ठोस निर्णय नभएको भन्दै उनीहरू निराश छन्।
भुटानी शरणार्थी सुरक्षा बेस क्याम्पका सचिव करन राईले सशस्त्र प्रहरी पुनः फर्किए क्याम्पको पुनर्निर्माण तथा मर्मतसम्बन्धी सम्पूर्ण खर्च समुदाय आफैंले व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।
स्थानीयले राज्यसँग तत्काल सुरक्षा उपस्थिति पुनःस्थापना गर्न र दीर्घकालीन समाधान निकाल्न आग्रह गरेका छन्।
