झापा । झापा जिल्ला अन्तर्गत कचनकवल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालय को प्र१–०१–००१ ख४४८२ नम्बरको बस दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारीअनुसार बस दुर्गाभिट्टाबाट आमबारीतर्फको भित्री सडकमा जाँदै गर्दा मोटरसाइकलसँग ठोक्किएपछि अनियन्त्रित भई पल्टिएको थियो।
उक्त घटनामा प्र१–०१–०१३ प३४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार बसमा सवार १८ मध्ये १३ विद्यार्थी घाइते भएका हुन्।
घाइतेमध्ये ११ जनालाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पताल मा भर्ना गरिएको छ। मोटरसाइकल चालक कचनकवल–३ का ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र खुट्टामा चोट लागेको छ।
प्रहरीका अनुसार दुर्घटनापछि बस चालक फरार रहेका छन् र उनको खोजी कार्य जारी छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
