काठमाडौं । पश्चिम एसियामा जारी भू–राजनीतिक तनावको असर नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष रूपमा देखिन थालेको छ। नेपाल पर्यटन बोर्ड का अनुसार पर्यटकीय सिजन सुरु भए पनि विदेशी आगमनमा अपेक्षित वृद्धि हुन सकेको छैन।
अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण हवाई मार्ग अस्थिर बनेसँगै नेपाल आउने पर्यटकले यात्रा योजना स्थगित वा रद्द गर्न थालेका छन्। विशेषगरी संयुक्त अरब इमिरेट्स, कतार र टर्कीजस्ता प्रमुख ट्रान्जिट हबमा उडान अनिश्चित हुँदा नेपालको पर्यटनमा असर परेको व्यवसायीहरूको भनाइ छ।
नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष सिएन पाण्डेले हवाई इन्धनको मूल्यवृद्धि र लामो ट्रान्जिट समयका कारण टिकट दर महँगो बनेको बताए। उनका अनुसार यसले नेपाल आउने यात्रु घटाएको छ।
पर्यटन बोर्डका तथ्यांकअनुसार सन् २०२६ को मार्चमा नेपालमा १ लाख २० हजार ५१६ विदेशी पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा थोरै कमी हो। जनवरी र फेब्रुअरीका तथ्यांकमा केही वृद्धि देखिए पनि पछिल्ला महिनामा गिरावट देखिएको छ।
हवाई इन्धनको मूल्य बढेसँगै टिकट दरमा पनि उल्लेख्य वृद्धि भएको छ। उदाहरणका रूपमा नेपाल–हङ्कङ रुटमा सस्तो टिकट ८०–८५ हजार रुपैयाँबाट बढेर १ लाख ५ हजार रुपैयाँ पुगेको एयरलाइन्स प्रतिनिधिहरूले बताएका छन्।
यसैबीच, क्याथे प्यासिफिक एयरवेज लगायत अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले पनि इन्धन लागत र रुट परिवर्तनका कारण भाडा समायोजन गरेका छन्।
होटल व्यवसायीहरूका अनुसार पर्यटकीय सिजन सुरु भए पनि होटल बुकिङ रद्द हुने क्रम बढेको छ। ठमेल क्षेत्रका होटलहरूमा मात्र ५० देखि ६० प्रतिशतसम्म अकुपेन्सी रहेको व्यवसायीहरूको भनाइ छ।
विशेषज्ञहरूले पश्चिम एसियामा तनाव लामो समयसम्म कायम रहे नेपालको पर्यटन पुनरुत्थानमा थप चुनौती सिर्जना हुन सक्ने चेतावनी दिएका छन्।
