काठमाडौं । त्रिभुवन विश्वविद्यालय का उपकुलपति, रेक्टर र रजिस्टारसहित तीन उच्च पदाधिकारीले सामूहिक रूपमा राजीनामा दिएका छन्।
उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजाल ले विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा बुझाएका हुन्। रेक्टर केसीका अनुसार राजीनामा पत्र बिहीबार औपचारिक रूपमा पठाइएको हो।
राजीनामाको कारणबारे रेक्टर केसीले सरकारले विश्वविद्यालयका पदाधिकारी तथा राजनीतिक नियुक्ति पाएका अधिकारीहरू हटाउने उद्देश्यसहित अध्यादेश ल्याउने तयारी गरिरहेको सन्दर्भमा पदमा बसिरहन उपयुक्त नठानेको बताएका छन्।
तीनै जना पदाधिकारी फरक–फरक समयमा नियुक्त भएका थिए। उपकुलपति अर्याल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली को कार्यकालमा नियुक्त भएका थिए भने रेक्टर केसी र रजिस्टार रिजाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको समयमा नियुक्त भएका हुन्।
सरकारले विश्वविद्यालयका संरचना तथा नियुक्ति प्रणालीमा सुधार गर्ने उद्देश्यसहित अध्यादेश ल्याउने तयारी गरिरहेको संकेतसँगै यो राजीनामाले उच्च शिक्षाको व्यवस्थापनमा ठूलो परिवर्तनको सम्भावना देखिएको विश्लेषकहरूको भनाइ छ।
