काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस फुटाउने कुनै प्रयासमा आफू नलाग्ने र त्यसतर्फ कसैले नजानुपर्ने स्पष्ट पारेका छन्।
बिहीबार महाराजगञ्जस्थित एक होटलमा आफूनिकट नेताहरूको भेलामा बोल्दै उनले पार्टीलाई विभाजनतिर होइन, एकताबद्ध र सुदृढ बनाउने दिशामा लाग्नुपर्ने बताएका हुन्। “पार्टी फुटाउनेतिर जानु हुँदैन, यसले संगठन बिगार्छ। हामीले पार्टीलाई कसरी एकजुट र बलियो बनाउने भन्नेमा ध्यान दिनुपर्छ,” उनले भने।
आगामी स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै उनले कांग्रेस बलियो नबने लोकतन्त्र नै कमजोर हुन सक्ने चेतावनी पनि दिए। “कांग्रेस बलियो भएन भने लोकतन्त्रमाथि खतरा आउन सक्छ,” उनको भनाइ थियो।
पार्टीभित्र नेतृत्व र रणनीतिका विषयमा विभिन्न समूह सक्रिय भइरहेका बेला गगन थापा नेतृत्वमा आएको पछिल्लो समीकरणपछि कोइराला पक्षले पनि आफ्नो धारणा स्पष्ट पार्न भेला आयोजना गरेको हो। यसअघि शेरबहादुर देउवा र पूर्णबहादुर खड्का पक्षको भेला बसेको थियो।
भेलामा सहभागी केही नेताहरूले कोइरालालाई आगामी महाधिवेशनमा नेतृत्व लिन आग्रह गरेका थिए। तर उनले त्यसबारे कुनै स्पष्ट धारणा सार्वजनिक नगरेको बताइएको छ।
भेलामा शशांक कोइराला लगायतका नेताहरू सहभागी थिए भने एनपी साउद पनि उपस्थित भएका थिए। छलफलका क्रममा अन्य नेताको आलोचना हुन थालेपछि शेखरले आलोचना नगरी सुझाव दिन आग्रह गरेका थिए।
पार्टीभित्रको आन्तरिक बहसबीच कोइरालाको यो अभिव्यक्तिलाई कांग्रेसभित्र एकताको सन्देशका रूपमा हेरिएको छ।
