नेपाली कांग्रेसले नवीकरण र नयाँ क्रियाशील सदस्यता विवरण केन्द्रीय ‘सिस्टम’मा प्रविष्ट गर्न छुटेका जिल्ला तथा क्षेत्रलाई एक हप्ताको समय दिएको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले बुधबारदेखि लागू हुनेगरी उक्त निर्देशन जारी गरेको हो।
महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले १५औँ महाधिवेशनको तयारीलाई ध्यानमा राख्दै नवीकरण र नयाँ सदस्यताको डिजिटल प्रविष्टि एक हप्ताभित्र पूरा गर्न निर्देशन दिएको हो।
बैठकले जिल्ला कार्यसमितिबाट नवीकरण भएका तथा प्रतिनिधिसभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता डिजिटल प्रणालीमा प्रविष्ट गरी शुल्कसहित केन्द्रीय कार्यालयमा बुझाइसकेका जिल्लाको विवरण छुट्याउने निर्णय पनि गरेको छ।
त्यसैगरी, जनसम्पर्क समितिका लागि पहिले कायम गरिएको अनलाइन क्रियाशील सदस्यता प्रक्रिया निरन्तर रहने निर्णय गरिएको छ। साथै, नेपाली नागरिकका लागि जनसम्पर्क समिति सदस्यता र कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउने व्यवस्था पनि कायम रहनेछ।
यस्तै, विभिन्न कारणले छुटेका सदस्यताको हकमा केन्द्रमा परेको निवेदनका आधारमा तोकिएको शुल्क लिएर वैशाख १६ गतेदेखि लागू हुने गरी एक हप्तासम्म नवीकरण गर्ने व्यवस्था गरिएको छ। रिक्त वडा सभापतिका कारण समस्या भएका स्थानमा भने सम्बन्धित निकायमार्फत डिजिटल प्रणालीमा विवरण अद्यावधिक गर्न सकिने निर्णय गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
