नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा दैनिक उपभोग्य वस्तु किनमेलमा लगाइएको सीमा व्यवस्थामाथि पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन्।
सर्लाही क्षेत्र नं ४ अन्तर्गत धनकौलबजारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सीमावर्ती क्षेत्रमा लागू गरिएको नियमले स्थानीय जनजीवनमा समस्या सिर्जना गरेको भन्दै यसको व्यवहारिक पक्षलाई ध्यान दिनुपर्ने बताए।
थापाले सर्लाही प्रशासनलाई कानून कार्यान्वयन गर्दा कुनै पनि प्रकारको विभेद नगर्न पनि आग्रह गरे। उनका अनुसार कानून सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्छ र त्यसमा पक्षपात हुनु हुँदैन।
प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा पुगेका थापाले पार्टी वा व्यक्ति हेरेर कानून लागू हुने वा नहुने अवस्था स्वीकार्य नहुने स्पष्ट पारे।
उनले आफू सर्लाही क्षेत्र नं ४ का करिब २३ हजार जनताको प्रतिनिधि भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य तथा अन्य विकासका क्षेत्रमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
