रुपन्देही । रुपन्देहीको देवदह–१० मा बुधबार बिहान करिब ९ बजे ईभी माइक्रो र माइक्रो बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
दुर्घटनामा परी गम्भीर घाइते भएका रानी कुमारी खत्री (बर्दघाट–६, नवलपरासी) र पदम रायमाझीको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रहरीका अनुसार वागमती प्रदेश ००ख ८९२८ नम्बरको नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको ईभी माइक्रो र लु १ ख ७२८५ नम्बरको बुटवल–बर्दघाट चल्ने माइक्रो बस एकआपसमा ठोक्किएका हुन्। अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रारम्भिक अनुसन्धानमा तीव्र गति तथा ट्राफिक व्यवस्थापनको कमी दुर्घटनाको मुख्य कारण रहेको देखिएको छ। निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत उक्त स्थानमा डाइभर्सन भए पनि ईभी माइक्रोले गलत लेन प्रयोग गरेको बताइएको छ।
स्थानीयका अनुसार सडक निर्माण गरिरहेको चाइना स्टेट कम्पनीले पर्याप्त ट्राफिक संकेत (डाइभर्सन एरो, सिग्नल) नराख्दा दुर्घटनाको जोखिम बढेको छ।
दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा, स्पष्ट संकेत प्रणाली र जिम्मेवार सवारी सञ्चालनमा सरोकारवाला सबैले ध्यान दिनुपर्ने देखिएको छ।
