रौतहट । गगन कुमार थापाले वर्तमान सरकारले संसद् र नागरिक दुवैलाई हेपेको आरोप लगाएका छन्। प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदातासँग भेटघाटमा निस्किएका थापाले रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन्।
नेपाली कांग्रेसका सभापति थापाले सरकारलाई आफ्नै बहुमत भएको सदनप्रति नै विश्वास नरहेको आरोप लगाए। “सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन,” उनले भने, “संसद्को मिति तोकेर आह्वान भइसकेको अवस्थामा बिना सूचना बैठक स्थगित गर्नु गैरजिम्मेवारीपन हो।”
संसद् छलेर अध्यादेश ल्याउने तयारीप्रति लक्षित गर्दै उनले नागरिकलाई जानकारी दिन नपर्ने प्रवृत्तिको आलोचना गरे। सांसदहरूकै अनुरोधमा बैठक स्थगित गरिएको भन्ने प्रचारलाई उनले भ्रामक भन्दै “सरासर ढाँट्ने र हेप्ने” कार्यको संज्ञा दिए।
संवैधानिक परिषद्को संरचना र नियुक्ति प्रक्रियाबारे बोल्दै थापाले विगतकै शैलीमा अहिले पनि सत्तापक्षले आफू अनुकूल निर्णय गर्न खोजेको आरोप लगाए। उनले संवैधानिक निकायमा सुधार आवश्यक रहेको र त्यसका लागि प्रतिपक्षसँग सहकार्य गर्नुपर्ने बताए।
थापाले शासकीय सुधारका काममा सहयोग गर्न तयार रहेको जनाउँदै सदन र अन्य दललाई बेवास्ता गरेर अघि बढ्ने प्रवृत्तिविरुद्ध कांग्रेस चुप नबस्ने चेतावनी दिए।
गत फागुनमा सम्पन्न निर्वाचनमा सर्लाही–४ बाट पराजित भएका थापा पहिलो पटक मतदातालाई धन्यवाद दिन र स्थानीय अवस्था बुझ्न सर्लाही पुग्न लागेका हुन्। आज दिनभर उनले विभिन्न स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ।
