खोटाङ । सुनकोशी नदीमा पानीको बहाव बढेसँगै बंशिलाघाट र फोक्सिन्टारमा राखिएका अस्थायी बेलिब्रिज हटाउने तयारी गरिएको छ। यससँगै खोटाङलाई तराईसँग जोड्ने सिधा यातायात पुनः अवरुद्ध हुने भएको छ।
पूर्वाधार विकास कार्यालय दिक्तेलका प्रमुख विनम दाहालका अनुसार बंशिलाघाटमा जडान गरिएको बेलिब्रिज वैशाख मसान्तसम्म हटाउन निर्माण कम्पनीलाई पत्राचार गरिएको छ। उक्त बेलिब्रिज गत माघ २४ गते जडान गरी सञ्चालनमा ल्याइएको थियो।
त्यस्तै, गाईघाट–दिक्तेल सडक योजना कार्यालयका सूचना अधिकारी सुमन गोलेले फोक्सिन्टारस्थित बेलिब्रिज पनि वैशाख मसान्तपछि पूर्ण रूपमा हटाइने जानकारी दिएका छन्।
हाल यी दुई नाकाबाट सवारी सञ्चालन भइरहे पनि बेलिब्रिज हटाइएपछि स्थानीयवासीलाई पुनः पुरानै सास्ती व्यहोर्नुपर्नेछ। त्यसपछि नागरिकले झोलुङ्गे पुलको सहारामा नदी वारपार गर्नुपर्ने बाध्यता रहनेछ।
बंशिलाघाटस्थित बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्रलाई उदयपुरसँग जोड्दै पहिलो पटक सिधा सडक पहुँच दिएको थियो। यसले वराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका साथै भोजपुरका केही क्षेत्रका नागरिकलाई अस्थायी राहत दिएको थियो।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास कार्यालयले करिब १ करोड ८७ लाख रुपैयाँमा खरिद गरेको उक्त बेलिब्रिज गुरुकुल बिल्डर्स एन्ड सप्लायर्स प्रालिले करसहित ५७ लाख रुपैयाँमा जडान गरेको हो। सोही कम्पनीले सम्झौताअनुसार बेलिब्रिज हटाउनेछ।
उक्त स्थानमा स्थायी मोटरेबल पुल निर्माणका लागि १९ करोड १८ लाख रुपैयाँभन्दा बढी लागतमा कालिका–वेदांसी जेभीसँग २०७९ मंसिर १ गते सम्झौता गरिएको भए पनि निर्माण कार्यमा ढिलासुस्ती भइरहेको छ।
यसैबीच, फोक्सिन्टारमा रहेको पक्की पुल गत वर्षको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो। उक्त पुल पुनर्निर्माण अझै अन्योलमा रहेको छ।
गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत पर्ने यो सडक पूर्वी सहर पुग्ने छोटो दूरीको मार्ग भए पनि बेलिब्रिज हटेपछि यातायात पूर्ण रूपमा प्रभावित हुने देखिएको छ।
स्थानीयवासीले अब घुर्मी, कटारी हुँदै लामो दूरीको विकल्प रोज्नुपर्ने बाध्यता रहनेछ, जसले समय र खर्च दुवै बढाउने निश्चित छ।
