काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनका लागि कसैलाई पनि टिकटको आश्वासन नदिन पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्। पार्टीभित्र गलत अभ्यास हुन नदिन र पारदर्शी उम्मेदवार छनोट प्रक्रिया कायम राख्न यस्तो कदम चालिएको बताइएको छ।
रास्वपाले २०८४ सालमा हुने स्थानीय तह तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ। वैशाख २० गतेदेखि सुरु हुने उक्त कार्यक्रममार्फत योग्य उम्मेदवार छनोट तथा निर्वाचनपूर्व प्रशिक्षण दिइनेछ।
उक्त कार्यक्रमको संयोजनको जिम्मेवारी सहमहामन्त्री विपिन कुमार आचार्यलाई दिइएको छ।
पार्टीका प्रवक्ता मनिष झा का अनुसार, “उपयुक्त उम्मेदवार चयन र प्रशिक्षणका लागि ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्न लागिएको हो। कसैले पनि टिकटको विषयमा कुनै प्रतिबद्धता गर्न पाइने छैन, यदि त्यस्तो भेटिएमा कारबाही गरिनेछ।”
रास्वपाले आगामी निर्वाचनलाई लक्षित गर्दै आन्तरिक तयारीलाई व्यवस्थित र पारदर्शी बनाउन जोड दिएको जनाएको छ।
