काठमाडौं । चक्रपथ विस्तार आयोजनाको दोस्रो चरण अन्तर्गत सहायतासम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ।
सम्झौतापत्रमा सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच हस्ताक्षर भएको हो।
सम्झौताअनुसार दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म ८.२ किलोमिटर सडक तथा आवश्यक पुल संरचना निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।
यसअघि सन् २०१९ देखि सुरु गरिएको पहिलो चरणअन्तर्गत कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ, जसले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याएको छ।
सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा देखिने समस्यालाई छिटो समाधान गर्दै प्रभावकारी रूपमा काम अगाडि बढाइने प्रतिबद्धता जनाए। उनले उत्तर–दक्षिण सडक सञ्जाल सुदृढ पार्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार विकासमा चिनियाँ लगानी थप बढ्ने अपेक्षा व्यक्त गरे।
त्यसैगरी, राजदूत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा चिनियाँ लगानीकर्ताहरू नेपालमा थप लगानी गर्न इच्छुक रहेको बताए।
