काठमाडौं । यातायात व्यवस्था विभागले देशभर सञ्चालन हुने अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको जनाएको छ।
विभागका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति तथा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार नयाँ दर निर्धारण गरिएको हो। भाडा वृद्धिको मुख्य कारण डिजेलको मूल्यमा भएको उल्लेखनीय वृद्धि रहेको छ।
विभागले प्रयोग गर्दै आएको स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढीले घटबढ भएमा भाडा समायोजन गर्न सकिने प्रावधान छ। पछिल्लो समायोजनको बेला डिजेलको औसत मूल्य प्रतिलिटर १८०.८३ रुपैयाँ रहेकोमा हाल ३०.४१ प्रतिशतले बढेर २३५.८३ रुपैयाँ पुगेपछि नयाँ भाडादर लागू गरिएको हो।
नयाँ दरअनुसार यात्रुवाहक सवारी साधनको भाडा ५.३ प्रतिशतले वृद्धि गरिएको छ। त्यसैगरी, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ७.७ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ९.१ प्रतिशतले बढाइएको छ। यसले विशेषगरी लामो दूरीको यात्रा तथा ढुवानी लागतमा प्रत्यक्ष असर पार्ने देखिएको छ।
विभागले स्पष्ट पारेअनुसार यो निर्णय दुई वा सोभन्दा बढी प्रदेश जोड्ने राष्ट्रिय स्तरका रुटहरूमा मात्र लागू हुनेछ। वातावरणमैत्री विद्युतीय सवारी साधनको हकमा भने पुरानै भाडादर कायम रहने र कुनै वृद्धि नगरिएको जनाइएको छ।
नयाँ भाडादरको विस्तृत सूची सार्वजनिक गर्दै विभागले सबै सरोकारवालालाई सोहीअनुसार कार्यान्वयन गर्न निर्देशन दिएको छ।
