काठमाडौं । पूर्वमन्त्री तथा स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण स्वयं सार्वजनिक गरेका छन्। संसद् सचिवालयले विवरण सार्वजनिक नगर्न सक्ने आशंका भएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पूर्ण सम्पत्ति सार्वजनिक गरेको बताएका छन्।
पुनले सार्वजनिक गरेको विवरण अनुसार उनीसँग चारवटा जग्गा भए पनि आफ्नै घर भने छैन। हाल उनी भाडाको घरमा बस्दै आएका छन्। उनको स्थायी ठेगाना चितवनको राप्ती नगरपालिका–८ खुरखुरे टोल भए पनि अहिले कास्कीको हमालटोलमा डेरा गरेर बसिरहेका छन्।
उनका अनुसार कास्कीको माझठाना गाउँपालिका–७ मा चार टुक्रा जग्गा छन्, जुन २०५२ सालमा पदम पुनसँग मिलेर करिब ४ लाख रुपैयाँमा खरिद गरिएको थियो। कुल क्षेत्रफल करिब ४ रोपनी ६ आना रहेको उक्त जग्गा बिक्रीमा राखिए पनि अहिलेसम्म नबिकेको उनले बताएका छन्।
सम्पत्ति विवरणमा पुनसँग ३ तोला सुन रहेको उल्लेख छ, जुन २०६० सालमा किनिएको हो। उक्त सुन श्रीमतीलाई इस्टमित्रबाट उपहार स्वरूप प्राप्त भएको उनले बताएका छन्। साथै, दुई बैंक खातामा गरी करिब २९ लाख रुपैयाँ नगद मौज्दात रहेको छ। त्यसमध्ये २५ लाख रुपैयाँ चुनावका क्रममा प्राप्त सहयोगबाट बाँकी रहेको रकम हो।
उक्त रकममध्ये केही भाग बेनीस्थित सम्पर्क कार्यालय सञ्चालनमा खर्च भइरहेको र बाँकी रकम व्यक्तिगत खर्चका लागि प्रयोग गरिरहेको उनले बताएका छन्। साथै, उनीसँग कुनै सवारीसाधन नभएको र बैंकमा सेयर लगानी पनि नभएको विवरणमा उल्लेख छ।
पुनले आफ्नो आत्मकथा बिक्रीबाट प्राप्त रकम राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा गरिरहेको पनि जानकारी दिएका छन्। उनले आलोचकहरूलाई लक्षित गर्दै आफ्नो सम्पत्ति विवरण पारदर्शी रूपमा सार्वजनिक गरेको बताएका छन्।
उनले भनेका छन्, “मसँग भौतिक सम्पत्ति धेरै छैन, तर मेरो सबैभन्दा ठूलो सम्पत्ति देश–विदेशमा रहेका असंख्य सहयोगीहरू हुन्, जसको मूल्यांकन गर्न सकिँदैन।”
पुनका अनुसार उनले शिक्षामन्त्री हुँदा पनि सम्पत्ति विवरण बुझाएका थिए, तर त्यतिबेला सरकारले सार्वजनिक नगरेको दाबी गरेका छन्।
