नवलपरासी, १६ वैशाख। नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षासम्बन्धी काम सुरु गरिएको छ।
आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल निर्माण पूरा भएका क्षेत्रमा सडक सुरक्षाका विभिन्न कामहरू तीव्र रूपमा अघि बढाइएका छन्। उनका अनुसार सडक सुरक्षाअन्तर्गत लेन चिन्ह (सेतो–पहेंलो रेखा) बनाउने, बीच डिभाइडरमा रङ लगाउने, मुख्य र सहायक सडक छुट्याउने सिमेन्ट बार राख्ने तथा स्पिड लिमिट संकेतहरू जडान गर्ने काम भइरहेको छ।
त्यस्तै, सडक छेउमा रेलिङ, डब्लु–बिम तथा डेलिनेटर पोल जडान गर्ने कार्य पनि जारी रहेको उनले जानकारी दिए।
सूचना अधिकारी खनालका अनुसार निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै सडक सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाइएको हो। उनका भनाइमा पूर्वी खण्डअन्तर्गत नवलपरासी पूर्वमा पर्ने ६५ किलोमिटर सडकमध्ये करिब ७ किलोमिटर मात्र कच्ची रहेको छ भने बाँकी सबै क्षेत्रमा कालोपत्रे र पक्की सडक सञ्चालनमा आइसकेको छ।
हाल पूर्वी खण्डको भौतिक प्रगति करिब ८१ प्रतिशत पुगेको छ। दाउन्ने क्षेत्र बाहेक अन्य स्थानमा यात्रा सहज भएको पनि उनले बताए।
२०७५ माघ २४ गते सम्झौता भई सुरु भएको यो आयोजनाको काम सुरुमा २०७९ साउन २२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर समयमै काम नसकिएपछि हाल चौथोपटक म्याद थप गरी आउँदो साउनसम्मका लागि अवधि बढाइएको छ।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालित यो आयोजनाको कुल लागत करिब १६ अर्ब ९९ करोड रुपैयाँ रहेको छ।
कुल ११३ किलोमिटर लामो यो सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटर चार लेनसहित दुवैतर्फ सर्भिस लेन र दाउन्ने क्षेत्रमा १४ किलोमिटर तीन लेनको सडक निर्माण हुने योजना रहेको छ।
