काभ्रेपलाञ्चोक, १६ वैशाख। अविरल वर्षासँगै काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार साँझदेखि आंशिक रूपमा सञ्चालनमा आएको सडक मंगलबार साँझ पुनः वर्षासँगै खोलामा पानीको सतह बढेपछि बन्द गरिएको हो। यसअघि पनि रोशी खोलाको बाढीका कारण डाइभर्सन बग्दा शनिबारदेखि नै सडक अवरुद्ध भएको थियो।
सडक अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वतर्फ जाने तथा पूर्वबाट आउने सवारी साधनहरू रोकिएका छन्। प्रतिकूल मौसम र लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा जोखिम बढेको भन्दै बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मौसममा सुधार भई सडकमा कुनै अवरोध नरहेपछि मात्र अर्को सूचना जारी गरी राजमार्ग पुनः सञ्चालनमा ल्याइनेछ।
सुरक्षा अवस्थाबारे थप जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
