काठमाडौँ, १६ वैशाख। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा आज तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हावाहुरीको जोखिम उच्च रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको मोरङ र आसपासका क्षेत्र, मधेस प्रदेशका धनुषा र बारा आसपास, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची आसपास तथा सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ।
विभागले आज साँझ ५ः४५ बजेदेखि हावाहुरी सुरु भई भोलि बिहान ७ः४५ बजेसम्म प्रभाव रहने जनाएको छ। साथै, मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहितको वर्षा प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने पनि अनुमान गरिएको छ।
प्राधिकरणले हावाहुरीको समयमा घरबाहिर ननिस्कन, झ्यालढोका राम्रोसँग बन्द गर्न तथा कमजोर जस्तापाता र छाना मजबुत बनाउन आग्रह गरेको छ।
त्यस्तै, अग्ला रुख, खम्बा तथा बिजुलीका तार नजिक नबस्न, लत्रिएका तार नछुन र घरभित्र आगो प्रयोग गर्दा सावधानी अपनाउन पनि सुझाव दिइएको छ।
