काठमाडौँ, वैशाख १५ । २५७० औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँदेखि लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ सुरु गरिएको छ।
महासिद्ध स्यान्चुरी फर युनिभर्सल पिसको आयोजनामा तथा नेपाल पर्यटन बोर्डको समन्वयमा आज विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूबाट यात्रा प्रारम्भ गरिएको हो। यात्रा वैशाख १८ गते बुद्ध पूर्णिमाका दिन लुम्बिनी पुगेर सम्पन्न हुनेछ।
आयोजकका अनुसार यात्रामा १०८ जना साइकल यात्री सहभागी छन्। उनीहरूले बुद्धको जन्मभूमि लुम्बिनीबाट विश्व शान्ति, करुणा र सहअस्तित्वको सन्देश फैलाउने उद्देश्य राखेका छन्।
यात्रा पूरा भएपछि सहभागीहरूले लुम्बिनीमा विशेष धार्मिक तथा ध्यान कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्। मायादेवी मन्दिरमा पूजा, बोधिवृक्ष अगाडि ध्यान, विश्वशान्तिका लागि प्रार्थना तथा दीप प्रज्वलन कार्यक्रम हुने जनाइएको छ।
आयोजक संस्थाका संरक्षक एवं बौद्ध धर्मगुरु श्याल्पा रिन्पोछेका अनुसार यात्राको उद्देश्य शान्ति, करुणा र चेतनाको सन्देश विश्वभर फैलाउनु हो। सो अवसरमा रिन्पोछेद्वारा लिखित पुस्तक “टू पाथ टू पर्फेक्ट फ्रिडम” पनि सार्वजनिक गरिनेछ।
यसैगरी यात्राका क्रममा ‘गोइङ ग्रिन’ अवधारणाअनुसार कार्बन उत्सर्जन घटाउने र वातावरण संरक्षणबारे जनचेतना फैलाउने लक्ष्य पनि राखिएको आयोजकले जनाएको छ।
