काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा सरुवा तथा पदस्थापन गरिएका कर्मचारीलाई सम्बन्धित कार्यालयमा तत्काल हाजिर गराउन निर्देशन दिएको छ।
मन्त्रालयले मंगलबार सूचना जारी गर्दै सरुवा भएका कर्मचारीलाई आवश्यक रमाना पत्र उपलब्ध गराई हाजिर गराउने व्यवस्था मिलाउन सम्बन्धित कार्यालय प्रमुखहरूलाई आग्रह गरेको हो।
सूचनामा सरुवा भएका कर्मचारीलाई सात दिनभित्र अनिवार्य रूपमा कार्यस्थलमा हाजिर हुन तथा रमाना लिन पनि निर्देशन दिइएको छ।
मन्त्रालयका अनुसार विभिन्न स्थानमा खटाइएका कर्मचारीहरू हालसम्म तोकिएको कार्यस्थलमा नपुगेको गुनासो आएपछि यस्तो निर्देशन जारी गरिएको हो।
निर्देशनको पालना नगर्ने कर्मचारी तथा सम्बन्धित कार्यालयलाई प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत मन्त्रालयले दिएको छ।
मन्त्रालयले प्रशासनिक सुचारुता, सेवा प्रवाहको प्रभावकारिता र कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउन यो कदम चालिएको स्पष्ट पारेको छ।
