काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र देखिएको विवाद समाधान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियन फुटबल महासंघ (एएफसी) सँग प्रत्यक्ष संयुक्त बैठक गर्ने प्रस्ताव अघि सारेको छ।
एन्फा महासचिव किरण राईसँग भएको छलफलका क्रममा राखेप सदस्य–सचिव रामचरित्र मेहताले फिफा र एएफसीलाई समेटेर प्रत्यक्ष बैठक गर्ने प्रस्ताव राखेका हुन्। मेहताका अनुसार यसका लागि बुधबार नै दुवै निकायलाई औपचारिक पत्र पठाइने तयारी छ।
राखेपले प्रस्तावित बैठक एन्फाकै सहजीकरणमा गर्ने सहमति भएको जनाएको छ। यसअघि फिफा, एएफसी, एन्फा र राखेपबीच विवाद समाधानबारे भर्चुअल छलफल भइसकेको थियो।
एन्फाभित्र ‘अर्ली इलेक्सन’ सम्बन्धी विवाद चर्किएपछि राखेपले चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। त्यसपछि फुटबल प्रशासनिक विवाद थप जटिल बन्दै गएको छ।
यसैबीच, फिफा र एएफसीले संयुक्त रूपमा पठाएको पत्रमा आगामी मे ४ भित्र समस्या समाधान नभए एन्फामाथि थप निलम्बन प्रक्रिया अघि बढाउन सकिने चेतावनी दिइएको छ। यही समयसीमाभित्र समाधान खोज्न राखेपले प्रत्यक्ष छलफलको पहल गरेको हो।
राखेपका अनुसार प्रस्तावित बैठक मे ४ अघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
एन्फा प्रवक्ता सुरेश शाहले पनि अहिले राखेपसँग निरन्तर छलफल भइरहेको र समाधानका लागि प्रयास जारी रहेको बताएका छन्।
