काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन्। जेनजी आन्दोलनको चार दिनअघि भदौ १९ गते नियुक्त भएका बस्यालले करिब आठ महिनामै राजीनामा बुझाएका हुन्।
अर्थ मन्त्रालयका अनुसार उनले सोमबार अर्थमन्त्री समक्ष राजीनामा बुझाएका थिए र सो राजीनामा स्वीकृत भइसकेको छ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा एमाले पृष्ठभूमिबाट नेप्से अध्यक्षमा नियुक्त गरिएका बस्यालको नियुक्ति सुरुदेखि नै विवादित बनेको चर्चा थियो। परम्परागत रूपमा अर्थ मन्त्रालयकै कर्मचारीले सम्हाल्दै आएको पदमा उनलाई अस्वाभाविक रूपमा नियुक्त गरिएको भन्दै आलोचना पनि हुँदै आएको थियो।
नयाँ सरकार गठनपछि पुराना राजनीतिक नियुक्तिहरू पुनरावलोकन हुने संकेतसँगै बस्यालमाथि राजीनामाका लागि दबाब बढेको बताइन्छ। सोही परिस्थितिबीच उनले पद छाडेका हुन्।
राजीनामा दिनुअघि बसेको नेप्से सञ्चालक समितिको बैठकमा उनले सीडीएस एन्ड क्लियरिङ लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत प्रवीण पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेका थिए।
