काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी सङ्गठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेजीबारे नेपाली कांग्रेसको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा बसेको भातृ तथा शुभेच्छुक संस्थाहरूको सदस्यता अद्यावधिकसम्बन्धी बैठकमा अध्यक्ष शेर्पाले नेविसंघको विधान, स्ववियुको भूमिका र वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको दृष्टिकोणबारे प्रश्न उठाएका हुन्।
बैठकमा उनले करिब दुई वर्षअघि पारित भएको भनिएको नेविसंघको नयाँ विधान हालसम्म केन्द्रीय समितिलाई उपलब्ध नगराइनु आपत्तिजनक भएको बताए। सङ्गठनलाई विधि र विधानअनुसार सञ्चालन गर्न तत्काल विधान सार्वजनिक गर्नुपर्ने मागसमेत उनले राखे।
सरकारले विद्यार्थी सङ्गठन तथा स्ववियु खारेज गर्ने तयारी गरिरहेको चर्चा चलिरहेका बेला अध्यक्ष शेर्पाले यस विषयमा कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गरे।
उनले स्ववियुलाई विद्यार्थीहरूको हकहित संरक्षण गर्ने र नेतृत्व विकास गर्ने महत्वपूर्ण थलोका रूपमा व्याख्या गर्दै यसको औचित्य अझै सान्दर्भिक रहेको बताए। साथै, स्टुडेन्ट काउन्सिलभन्दा स्ववियु मोडल प्रभावकारी भएको दाबी गर्दै खारेजीको विषयमा स्पष्ट नीति आवश्यक रहेको उनको भनाइ थियो।
