काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद्को अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने अभ्यासलाई मर्यादित नमानिने बताएका छन्।
सोमबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै चालिसेले कानुन निर्माण प्रक्रिया संसदबाट पारदर्शी रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।
उनका अनुसार संसद् बोलाइसकेपछि बिना स्पष्ट जानकारी स्थगित गर्नु र त्यसपछि संसद् छलेर अध्यादेश ल्याउने प्रयास गर्नु उचित अभ्यास होइन। “सरकारले प्रस्ताव गरेपछि संसद् अधिवेशन बोलाइएको अवस्थामा फेरि स्थगित भएको देखियो,” उनले भने, “एकातिर संसद् स्थगित गर्ने र अर्कोतिर अध्यादेश ल्याउने कुरा मर्यादित कदम होइन।”
चालिसेले यस्ता अभ्यासले सरकारको विश्वसनीयतामा समेत असर पार्ने दाबी गर्दै बोलाइएको संघीय संसद् स्थगित गरेर अध्यादेश ल्याउने प्रयास कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने बताए।
