काठमाडौँ — अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासबारे महत्त्वपूर्ण फैसला गर्ने तयारी गरिरहँदा नयाँ सर्वेक्षणले अमेरिकी जनमत यस विषयमा विभाजित रहेको देखाएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र बजार अनुसन्धान संस्था इप्सोसद्वारा गरिएको सर्वेक्षणअनुसार ६४ प्रतिशत अमेरिकी नागरिकहरूले अमेरिकामा जन्मिने सबै बालबालिकालाई स्वतः नागरिकता दिनुपर्ने पक्षमा समर्थन जनाएका छन्। भने ३२ प्रतिशतले मात्र उक्त नीतिको अन्त्यको पक्ष लिएका छन्।
यो विवाद राष्ट्रपति ट्रम्पले २०२५ को सुरुवातमा जारी गरेको कार्यकारी आदेशसँग सम्बन्धित छ, जसलाई विभिन्न अदालतहरूमा चुनौती दिइँदै आएको छ। हाल उक्त मुद्दा अमेरिकी सर्वोच्च अदालतमा पुगेको छ र निकट भविष्यमा निर्णय आउने अपेक्षा गरिएको छ।
सर्वेक्षणले राजनीतिक आधारमा स्पष्ट विभाजन देखाएको छ। डेमोक्रेट पार्टी समर्थकहरूमध्ये करिब ९ प्रतिशत मात्र नागरिकता अन्त्यको पक्षमा छन् भने रिपब्लिकन मतदातामध्ये ६२ प्रतिशतले यसको समर्थन गरेका छन्।
त्यस्तै, अन्य संवेदनशील मुद्दाहरूमा पनि अमेरिकी समाज विभाजित देखिएको छ। करिब ६७ प्रतिशतले महिला खेलकुदमा ट्रान्सजेन्डर खेलाडीलाई प्रतिबन्ध लगाउने पक्षमा मत दिएका छन् भने ६५ प्रतिशतले मेल–इन भोट प्रणालीमा ढिलो पुगेका तर समयमै पोस्टमार्क भएका मतपत्र गणना गर्नुपर्ने बताएका छन्।
लुइसियाना राज्यको निर्वाचन क्षेत्र पुनः नक्सांकनसम्बन्धी मुद्दामा पनि जातीय प्रतिनिधित्वलाई लिएर मत विभाजन देखिएको सर्वेक्षणमा उल्लेख छ। सर्वेक्षण अप्रिल १५ देखि २० सम्म देशभर गरिएको थियो।
