काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको उक्त भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुद क्षेत्रको विकासमा चीन सरकारको सहयोग र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा केन्द्रित छलफल भएको थियो ।
छलफलका क्रममा विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, पठनपाठनमा डिजिटल प्रणालीको विस्तार तथा शैक्षिक संस्थागत विकासका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो । साथै, नेपाल–चीनबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउँदै आपसी सहकार्य विस्तार गर्ने विषयमा समेत दुवै पक्षबीच सकारात्मक संवाद भएको छ ।
भेटमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधारका लागि चिनियाँ सहयोगलाई अझ प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरे । उनले विद्यालयस्तरमा डिजिटल शिक्षाको विकास, पूर्वाधार विस्तार तथा चालु परियोजनाहरू समयमै सम्पन्न गर्न जोड दिँदै नेपाली विद्यार्थीहरूको रुचिअनुसार चीन सरकारबाट उपलब्ध हुने छात्रवृत्तिलाई प्रवर्द्धन गर्न आग्रह गरे ।
जवाफमा चिनियाँ राजदूत माओमिङले नेपाल सरकारले उठाएका प्राथमिकताका विषयमा चीन सकारात्मक रहेको बताउँदै शिक्षा लगायतका विभिन्न क्षेत्रमा साझेदारी विस्तार गर्न तत्पर रहेको धारणा व्यक्त गरे ।
उक्त भेटवार्तामा दुई देशबीचको आपसी हित, शैक्षिक सहकार्य तथा बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै अगाडि बढ्ने समझदारी भएको जनाइएको छ ।
