एजेन्सी - जापानको होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको भूकम्प आएपछि पुनः सतर्कता बढाइएको छ। पछिल्ला दिनहरूमा लगातार देखिएको भूकम्पीय गतिविधिबीच आएको यो कम्पनले थप शक्तिशाली झट्काको सम्भावना अझै कायम रहेको संकेत दिएको छ।
जापानी मौसम विज्ञान एजेन्सी(जेएमए) का अनुसार भूकम्प स्थानीय समयअनुसार बिहान ५:२३ बजे होक्काइडोको दक्षिणी क्षेत्रमा केन्द्रित भएर आएको हो। यसको गहिराइ करिब ८३ किलोमिटर रहेको र प्रारम्भिक ६.१ म्याग्निच्युडको अनुमानलाई संशोधन गर्दै ६.२ कायम गरिएको जनाइएको छ।
भूकम्पपछि सुनामीको चेतावनी जारी नगरिए पनि प्रभावित क्षेत्रमा बलियो कम्पन महसुस गरिएको थियो। अमेरिकी भूगर्भीय सर्वेक्षणले जनघनत्व कम रहेको क्षेत्र नजिक केन्द्रित भएकाले ठूलो क्षतिको सम्भावना न्यून रहेको जनाएको छ। तर जेएमएले चट्टान खस्ने र भूस्खलनको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
जेएमएका अनुसार आगामी केही दिन वा हप्ताभित्र समान स्तरका थप भूकम्प आउन सक्ने सम्भावना उच्च छ। यसअघि केही घण्टा अघि नै समुद्री क्षेत्रमा ५.० म्याग्निच्युडको अर्को कम्पन पनि आएको थियो, जसले क्षेत्रको सक्रियता बढिरहेको देखाएको छ।
यो घटनाक्रम गत हप्ता इवाटे प्रान्तमा मा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछिको शृङ्खलाकै एक हिस्सा मानिएको छ। उक्त भूकम्पको प्रभाव राजधानी टोकियोसम्म पुगेको थियो, जहाँ भवनहरू हल्लिएका थिए र केही व्यक्ति घाइते भएका थिए। साथै, इवाटे क्षेत्रमा करिब ८० सेन्टिमिटर उचाइका सुनामी छालहरू पनि देखिएका थिए।
जापान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले विश्वकै सबैभन्दा भूकम्पीय रूपमा सक्रिय देशमध्ये एक हो। यहाँ हरेक वर्ष करिब १,५०० भूकम्प आउने गरेका छन्, जुन विश्वभरका कुल भूकम्पको करिब १८ प्रतिशत हो।
सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीले १८ हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको वा बेपत्ता भएको थियो । त्यसयता जापानले भूकम्प पूर्वतयारी र जोखिम न्यूनीकरणमा ठूलो लगानी गर्दै आएको भए पनि पछिल्ला गतिविधिहरूले पुनः सतर्क रहनुपर्ने अवस्था देखाएका छन् ।
