उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–५ र ६ मा पर्ने चुरे पारिको निर्माणाधीन सडक स्तरोन्नतिको काम वर्षौंदेखि अलपत्र परेको छ। निर्माण कम्पनी नै सम्पर्कविहीन भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्।
दमौटी, बुर्जाकाला, पातलेबास, लालपत्ता र घनचक्रे क्षेत्र जोड्ने सडक स्तरोन्नतिको जिम्मा लिएको कम्पनीले काम छाडेपछि स्थानीयले कारबाहीको माग गर्दै पूर्वाधार विकास कार्यालय उदयपुर र नगरपालिकाको ध्यानाकर्षण गराएका छन्।
स्थानीयका अनुसार २०७८ असोज १ गते दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। तर २०८० भदौ ३० मा सकिनुपर्ने काम तीनपटक म्याद थप हुँदासमेत हालसम्म ५५ प्रतिशत मात्र पूरा भएको छ।
उक्त २० किलोमिटर सडक स्तरोन्नतिका लागि एमएस एससीएफ बीएनएस–जेभी, लहान–३ सिराहासँग करिब १८ करोड ७५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। कुल लागत अनुमान भने करिब ३९ करोड ४९ लाख रुपैयाँ रहेको थियो। योजना अनुसार सडक ग्राभेलसहित स्तरोन्नति, दुवैतर्फ फुटपाथ तथा नाली निर्माण गर्ने काम बाँकी छ।
पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख सीडीई गंगासागर यादवका अनुसार निर्माण व्यवसायीलाई पटक–पटक काम अघि बढाउन आग्रह गरिए पनि हाल ठेकेदार सम्पर्कबाहिर छन्। “फोनसमेत बन्द गरेर बसेका छन्,” उनले बताए।
अहिलेसम्म आयोजनाको भौतिक प्रगति ५५ प्रतिशत र आर्थिक प्रगति ४७ प्रतिशत मात्र रहेको छ। अन्तिम पटक थपिएको म्याद २०८२ चैत ३० मा सकिएको छ।
वर्षायाम सुरु भइसकेको अवस्थामा सडक अलपत्र पर्दा आवतजावतमा ठूलो समस्या हुने भन्दै स्थानीयले छिटो ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गर्न माग गरेका छन्।
कार्यालयले भने ठेक्का तोड्ने प्रक्रिया जटिल हुने, नयाँ ठेक्का गर्दा लागत बढ्ने र काम अझै ढिलो हुने भएकाले आगामी रणनीतिबारे आन्तरिक छलफल भइरहेको जनाएको छ।
