काठमाडौं – सर्लाहीको लालबन्दी क्षेत्रमा जंगली बँदेलको आक्रमणबाट एक युवकको ज्यान गएको छ। लालबन्दी नगरपालिका–१५ पिडखोल्सा बस्ने ३२ वर्षीय प्रेमबहादुर थिङ (दावा) को बँदेलको आक्रमणमा परेर मृत्यु भएको हो।
घाइते अवस्थामा रहेका थिङलाई उपचारका लागि महेन्द्र राजमार्ग हुँदै लालबन्दीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन्।
प्रहरी टोलीले मध्यरातमै घटनास्थल पुगेर आवश्यक मुचुल्का तयार पारी शव परीक्षणका लागि मंगलवा स्थित प्रादेशिक अस्पतालमा पठाएको जनाएको छ।
स्थानीयका अनुसार जंगली बँदेलले खेतमा लगाइएको मकैमा क्षति गर्न थालेपछि थिङ केही दिनदेखि खेतमै बसेर बालीको रेखदेख गर्दै आएका थिए। यही क्रममा बँदेलको आक्रमणमा परेका हुन्।
