काठमाडौँ — रुस र उत्तर कोरियाबीच सैन्य सम्बन्धलाई अझ मजबुत बनाउँदै दीर्घकालीन सहकार्य गर्ने सहमति भएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार दुई देशबीच सन् २०२७ देखि २०३१ सम्म लागू हुने विशेष सैन्य सहयोग योजनामा हस्ताक्षर गर्ने तयारी भइरहेको छ।
रुसी रक्षामन्त्री आन्द्रे बेलौसोभले उत्तर कोरियासँगको यो सहमति ऐतिहासिक भएको बताउँदै सैन्य सम्बन्धलाई रणनीतिक रूपमा निरन्तर अघि बढाइने स्पष्ट पारेका छन्।
यस सहकार्यअन्तर्गत उत्तर कोरियाले युक्रेनसँगको युद्धमा रुसलाई हजारौँ सैनिक तथा ठूलो मात्रामा क्षेप्यास्त्र र सैन्य सामग्री सहयोग गरेको बताइएको छ। यसको बदलामा उत्तर कोरियाले रुसबाट आर्थिक सहायता, सैन्य प्रविधि, खाद्यान्न र ऊर्जा आपूर्ति प्राप्त गरिरहेको विश्लेषण गरिएको छ।
रुसी अधिकारीहरूले कुस्र्क क्षेत्रमा भएको युद्धमा उत्तर कोरियाली सैनिकहरूले रुसी फौजसँग मिलेर लडेको भन्दै उनीहरूको भूमिकाको प्रशंसा गरेका छन्। रुसी संसदका सभामुख भ्याचेस्लाभ भोलोदिनले समेत उत्तर कोरियाली नेतृत्वलाई धन्यवाद दिएका छन्।
रक्षामन्त्री बेलौसोभले कुस्र्क अपरेसनमा सहभागी उत्तर कोरियाली सैनिकलाई सैन्य सम्मान प्रदान गरेका छन्। यस्तै, युद्धमा मारिएका सैनिकहरूको सम्झनामा प्योङयाङमा निर्माण गरिएको स्मारकमा दुवै देशका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
सन् २०२४ मा भएको सैन्य सन्धिअनुसार कुनै एक देशमाथि आक्रमण भएमा अर्कोले तत्काल सैन्य सहयोग गर्नुपर्ने प्रावधान छ, जसलाई नयाँ सहमतिले थप मजबुत बनाएको बताइएको छ।
दक्षिण कोरियाली स्रोतहरूका अनुसार युक्रेन युद्धमा हालसम्म करिब दुई हजार उत्तर कोरियाली सैनिकको मृत्यु भएको दाबी गरिएको छ। साथै, युद्धको अवस्थामा आत्मसमर्पण नगर्न कडा निर्देशन दिइएको कारण धेरै कम सैनिक मात्र जीवित रूपमा पक्राउ परेको पनि बताइएको छ।
रुस र उत्तर कोरियाबीच बढ्दो सैन्य निकटताले अन्तर्राष्ट्रिय राजनीति र क्षेत्रीय सुरक्षा सन्तुलनमा थप चुनौती सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ।
