काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ लगातार तेस्रो जित निकाल्दै आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिसले बूढानीलकण्ठलाई सोझो सेटमा पराजित गर्दै शीर्ष लयलाई निरन्तरता दियो ।
पुलिसले पहिलो, दोस्रो र तेस्रो सेट क्रमशः २५–२२, २५–१७ र २५–१८ ले जित्दै सहज जित दर्ता गरेको हो । यसअघि पनि पुलिसले कोसी प्रदेश र विभागीय प्रतिद्वन्द्वी एपीएफलाई हराउँदै उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो ।
यसैगरी, अर्को खेलमा रुकुम पश्चिम भलिबल क्लबले पनि आफ्नो अपराजित यात्रा कायम राख्दै लगातार तेस्रो जित निकालेको छ । रुकुमले खिल्जी युवा क्लबविरुद्ध सोझै सेटमा जित निकाल्दै प्रतियोगितामा बलियो उपस्थिति जनायो ।
रुकुमले पहिलो, दोस्रो र तेस्रो सेट क्रमशः २५–२२, २५–१८ र २६–२४ ले आफ्नो पक्षमा पार्दै रोमाञ्चक जित हात पारेको हो । यसअघि रुकुमले एपीएफ र कोसी प्रदेशलाई पराजित गर्दै उत्कृष्ट लय देखाइसकेको छ ।
प्रतियोगितामा पुलिस र रुकुम दुवै टोलीको लगातार जितले उपाधि होड अझ प्रतिस्पर्धात्मक बन्दै गएको छ ।
