काठमाडौंमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज (सोमबार) बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव बैठकमा प्रस्तुत हुने कार्यक्रम छ।
नेता प्रकाश ज्वालाका अनुसार बैठकमा पार्टीभित्र नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने विषयमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।
बैठकमा हालै सम्पन्न चुनावी समीक्षाको प्रतिवेदन अनुमोदन गर्ने तथा संगठनात्मक जिम्मेवारी बाँडफाँटसम्बन्धी प्रस्तावहरू पनि छलफलमा आउने छन्।
संगठनात्मक संरचना अन्तर्गत प्रदेश इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजकको जिम्मेवारी साविकका माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सन्तुलन कायम गर्दै बाँडफाँट गर्ने तयारी छ। ३२ विभागमा पनि प्रमुख र उपप्रमुखको जिम्मेवारी समान रूपमा वितरण गरिने बताइएको छ।
बैठकले १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने विषयमा पनि निर्णय गर्न सक्छ। साथै, तल्लो तहका पार्टी संरचना, जनवर्गीय संगठन, सदस्यता नवीकरण र एकता प्रक्रियाबारे पनि छलफल हुनेछ।
पार्टीको आगामी कार्यदिशा र एकता महाधिवेशनको मिति तय गर्ने विषय पनि आजको बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ। ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित वडा तहदेखि अधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।
