सरकारले काठमाडौं उपत्यकाका चार स्थानका सुकुम्बासी बस्ती खाली गर्दै वास्तविक सुकुम्बासी पहिचान गर्ने प्रक्रिया सुरु गरेको छ। शनिबारदेखि आइतबारसम्म थापाथली, मनोहरा, गैरीगाउँ र शान्तिनगर क्षेत्रमा रहेका बस्तीहरू खाली गरिएको हो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरीसहित करिब ३ हजार सुरक्षाकर्मीको टोली परिचालन गरी सरकारी जग्गामा बनेका अस्थायी तथा स्थायी संरचना हटाइएको हो। करिब १ हजार सानाठूला घरटहरा डोजर प्रयोग गरी भत्काइएको महानगर प्रहरीका अनुसार जानकारी दिइएको छ।
अधिकारिहरूका अनुसार उपत्यकाका सबै अवैध बस्ती व्यवस्थापन गर्ने योजनाअनुसार थापाथलीबाट अभियान सुरु गरिएको हो। यस अभियानअन्तर्गत रूपन्देही, नुवाकोट, पर्सालगायत जिल्लामा पनि सरकारी जग्गा अतिक्रमण गरी बनेका संरचना हटाउने काम भइरहेको छ।
रूपन्देहीको बुटवल, नुवाकोटको विदुर र पर्साको गण्डक नहर क्षेत्रमा समेत अतिक्रमित संरचना हटाइएको छ।
सरकारले खाली गरिएका स्थानमा रहेका व्यक्तिहरूमध्ये वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्ने जनाएको छ। प्रमाणित सुकुम्बासीलाई इचंगुस्थित आवासीय भवनमा अस्थायी बसोबासको व्यवस्था गर्ने तयारी गरिएको छ।
पहिचान प्रक्रिया दशरथ रंगशालाबाट सुरु गरी होल्डिङ सेन्टरमार्फत अघि बढाइनेछ। प्रमाणित भएका व्यक्तिहरूलाई मात्र स्थायी व्यवस्थापन गरिने सरकारको योजना छ।
प्राधिकरणका अनुसार थापाथली, मनोहरा, शान्तिनगर, गैरीगाउँ र गोठाटार क्षेत्रमा सयौँ परिवार बसोबास गर्दै आएका थिए। हाल केहीलाई विभिन्न स्थानमा अस्थायी रूपमा व्यवस्थापन गरिएको र बाँकीको पुनः व्यवस्थापन प्रक्रिया जारी रहेको जनाइएको छ।
