शनिबार र आइतबार परेको लगातार वर्षाका कारण बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले सडक सञ्चालनका लागि डाइभर्सन निर्माणको प्रयास गरे पनि पुनः वर्षा सुरु भएपछि काम रोकिएको छ।
सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार आइतबार साँझसम्म राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि अपराह्नपछि वर्षा बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै अस्थायी डाइभर्सन निर्माण कार्य स्थगित गरिएको हो। वर्षा नभएमा पुनः काम सुरु गरिने उनले बताए।
आइतबार आठ स्थानमा डाइभर्सन बनाउने प्रयास गरिएको थियो, तर काभ्रेपलाञ्चोकको चारसयबेँसी क्षेत्रमा काम भइरहेको बेला वर्षा भएपछि थप निर्माण रोकिएको छ।
शनिबारदेखि नै रोशी खोलामा आएको बाढीका कारण काभ्रेपलाञ्चोकको नमोबुद्ध–रोशी खण्ड (कटुन्जे–मङ्गलटार) सडक पूर्ण रूपमा प्रभावित भएको थियो। बाढीले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुङ्गा, डालाबेँसी, बुलढुङ्गा र माम्ती क्षेत्रसहित करिब चार किलोमिटर डाइभर्सनमा क्षति पुर्याएको छ।
प्रहरीका अनुसार जोखिम बढेपछि शनिबार दिउँसो ३:३० बजेदेखि नै उक्त राजमार्गमा सवारी आवागमन बन्द गरिएको थियो। सडक अवरुद्ध भएपछि धुलिखेल, काभ्रेभन्ज्याङ, मङ्गलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा सवारी साधन ‘होल्ड’ गरिएको छ।
अवरुद्ध मार्गका कारण फसेका ६ सयभन्दा बढी यात्रुलाई आइतबार झोलुङ्गेपुल हुँदै तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाको भकुण्डे क्षेत्रसम्म उद्धार गरिएको प्रहरीले जनाएको छ। यात्रुहरूलाई स्थानीय सहयोगमा खाद्यान्न, पानी र पेयपदार्थ वितरण गरिएको थियो।
गत वर्षको बाढीपहिरोले पनि यही क्षेत्रको करिब १८ किलोमिटर सडक बगाएको थियो, जसपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको छ। अहिले सोही क्षेत्रमा स्थायी सडक निर्माण कार्य पनि जारी रहेको अधिकारीहरूले बताएका छन्।
