काठमाडौँ, वैशाख १३ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफू निर्वाचन नलड्ने बताएका छन् ।
उनले सहमतिका आधारमा नेतृत्व चयन भए वरिष्ठता र अनुभवलाई मापदण्ड बनाउनुपर्ने तर निर्वाचन प्रक्रियामा भने सहभागी नहुने स्पष्ट पारेका छन् ।
केसीले भने, “म संसदीय दलको नेतामा निर्वाचन लड्दिनँ । सांसद बनेदेखि नै यो कुरा भन्दै आएको छु,” भन्दै आफूका कारण दलको नेता चयन प्रक्रिया ढिलो भएको भन्ने टिप्पणी गलत भएको दाबी गरे ।
उनका अनुसार यस विषयमा उनले पहिले नै पार्टी नेतृत्वलाई जानकारी गराइसकेका छन् ।
केसीले दलको नेतामा सहमति गर्दा स्पष्ट मापदण्ड तय गर्नुपर्नेमा जोड दिँदै कर्णाली प्रदेशकी महिला तथा प्रत्यक्ष निर्वाचित सांसद वासना थापालाई दलको नेता बनाइए आफू प्रस्तावक बन्न तयार रहेको पनि बताएका छन् ।
उनको भनाइले कांग्रेसभित्र संसदीय दलको नेतृत्व चयनबारे सहमति र आन्तरिक छलफललाई थप तातो बनाएको छ ।
