काठमाडौं, वैशाख १३ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूको पासपोर्ट रोक्का गरिएको छ ।
एन्फाभित्र देखिएको आर्थिक अनियमितताको छानबिनका क्रममा अध्यागमन विभागमार्फत सबै सम्बन्धित पदाधिकारीहरूको पासपोर्ट रोक्का गरिएको हो ।
यसअघि राखेपको मंगलबार बसेको कार्यकारी समितिको बैठकले निलम्बित एन्फा पदाधिकारीहरूलाई अन्तर्राष्ट्रिय फुटबल कार्यक्रमका लागि विदेश भ्रमणमा रोक लगाउने निर्णय गर्दै यसबारे गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।
एन्फामाथि आर्थिक नियमावली, कार्यविधि र विधान विपरीत खरिद प्रक्रिया सञ्चालन गरिएको तथा पारदर्शितामा गम्भीर प्रश्न उठेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सोही उजुरीका आधारमा आयोगले खेलकुद मन्त्रालयमार्फत राय माग गरेको थियो ।
जवाफस्वरूप राखेपले कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको छ । समितिमा राखेपका लेखा अधिकृत टंकनाथ कँडेल र आपूर्ति तथा भण्डार शाखाका गोपीकृष्ण निरौला सदस्य रहेका छन् ।
छानबिन अघि बढेसँगै एन्फा प्रशासनिक गतिविधि र आर्थिक प्रक्रियामाथि थप निगरानी बढाइएको बताइएको छ ।
