कपिलवस्तु, वैशाख १३ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले क्षमताभन्दा दोब्बर भार बोकेर नेपाल प्रवेश गरेका भारतीय सवारी साधनमाथि कडा कारबाही गरेको छ ।
शनिवार गरिएको विशेष जाँच अभियानका क्रममा ओभरलोड अवस्थामा रहेका २५ वटा भारतीय ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार ती ट्रकहरूले तोकिएको क्षमताभन्दा अत्यधिक भार बोकेर नेपाल प्रवेश गरेका थिए, जसले सडक दुर्घटनाको जोखिम बढाउने र सडक संरचनामा समेत क्षति पुर्याउने सम्भावना रहने भएकाले कडाइ गरिएको हो ।
कारबाहीस्वरूप प्रत्येक ट्रकबाट १० हजार रुपैयाँका दरले जरिवाना असुल गरिएको छ । यसअनुसार एकै दिन २५ ट्रकबाट कुल २ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरीले आगामी दिनमा पनि सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि निरन्तर कडा निगरानी र कारबाही जारी रहने स्पष्ट पारेको छ ।
