बग्दाद, वैशाख १३ गते । इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा फेब्रुअरी २८ देखि अप्रिल २० सम्म ड्रोन तथा क्षेप्यास्त्रमार्फत ८०९ वटा आक्रमण भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । ती आक्रमणहरूमा २० जना सर्वसाधारणको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन् ।
कुर्दिस्तान क्षेत्रीय सरकारको सञ्चार तथा सूचना विभागले जारी गरेको विज्ञप्तिअनुसार अधिकांश आक्रमणहरू नागरिक क्षेत्रलाई लक्षित गरी गरिएको देखिएको छ, यद्यपि क्षेत्रले यसअघि नै तटस्थताको नीति अपनाएको जनाएको छ ।
विज्ञप्तिमा नागरिक तथा निजी संरचनाले सबैभन्दा बढी क्षति व्यहोरेको उल्लेख गरिएको छ । एरबिल प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ, जहाँ ४७७ वटा आक्रमण भएका छन् । तीमध्ये ४१९ ड्रोन र ५८ क्षेप्यास्त्र प्रयोग गरिएको जनाइएको छ । एरबिलमा मात्र १० जनाको मृत्यु र ८३ जना घाइते भएका छन् ।
कुर्दिस्तान क्षेत्रीय सरकारले आक्रमणहरूलाई “आधारहीन बहानामा गरिएको” भन्दै नागरिक सुरक्षामाथि गम्भीर चुनौती उत्पन्न भएको बताएको छ ।
यसैबीच, फेब्रुअरी २८ देखि सुरु भएको संयुक्त अमेरिकी–इजरायली सैन्य कारबाहीपछि मध्यपूर्वमा तनाव बढेको र त्यसको प्रतिक्रियास्वरूप इरान तथा उसका सहयोगी समूहहरूले अमेरिकी तथा इजरायली स्वार्थलाई लक्षित गर्दै विभिन्न स्थानमा आक्रमण बढाएको बताइएको छ ।
