काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवाली ले नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो धक्का लागेको बताएका छन्।
पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी को २७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले फागुन २१ को निर्वाचन परिणामले कम्युनिष्ट आन्दोलन मात्रै नभई समग्र लोकतान्त्रिक शक्तिमा समेत असर परेको बताए।
ज्ञवालीका अनुसार निर्वाचनपछि गठन भएको सरकारका गतिविधिले देश निर्वाचित सर्वसत्तावादतर्फ उन्मुख हुन सक्ने चिन्ता बढाएको छ। उनले ट्रेड युनियन कमजोर बनाउने, विद्यार्थी संगठन खारेज गर्ने तथा स्वतन्त्र मिडियामाथि दबाब सिर्जना गर्ने प्रयासहरू देखिएको उल्लेख गर्दै यस्ता कदमले लोकतन्त्रप्रति शंका उत्पन्न गरेको बताए।
उनले वर्तमान राजनीतिक परिवेशमा पुस्ताबीच अतिवादी सोच बढ्दै गएको टिप्पणी गर्दै अनुभव र युवाको ऊर्जाबीच सन्तुलन कायम गर्न सके मात्र देशले सही दिशा लिन सक्ने धारणा राखे।
