काठमाडौं । उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुन सक्ने बताएका छन्।
विश्व बौद्धिक सम्पती दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले एलडीसी ग्रजुएसनपछि नेपालले अन्तर्राष्ट्रिय व्यापारमा पाउँदै आएका विभिन्न छुट तथा सहुलियतहरू गुम्ने बताए। यसले विशेषगरी औषधि उत्पादन क्षेत्रमा प्रत्यक्ष असर पर्ने उनको भनाइ छ।
बस्नेतका अनुसार हाल नेपाल एलडीसी सूचीमा रहेकाले औषधि र खोप उत्पादनमा बौद्धिक सम्पत्तिसम्बन्धी प्याटेन्ट अधिकार नलिकनै उत्पादन गर्ने सुविधा पाइरहेको छ। तर विकासशील मुलुकमा स्तरोन्नति भएपछि भने यस्तो सुविधा हट्ने र प्याटेन्टधारक कम्पनीलाई रोयल्टी तिरेर मात्रै उत्पादन गर्नुपर्ने अवस्था आउनेछ।
यसले गर्दा नेपालमै उत्पादन भइरहेका औषधिहरूको मूल्य अचानक बढ्न सक्ने उनले चेतावनी दिए। साथै, व्यापारिक सहुलियतहरू हट्दा उत्पादन लागत बढ्ने र कर प्रणालीमा समेत परिवर्तन आवश्यक पर्ने उनको भनाइ छ।
उनले नेपालले भारत तथा अन्य मुलुकसँग व्यापार गर्दा पाइरहेका विशेष सुविधा पनि एलडीसी ग्रजुएसनपछि नपाउने उल्लेख गर्दै यसको प्रभाव निजी क्षेत्र र औषधि व्यवसायमा संलग्न उद्यमीहरूमा बढी पर्ने बताए।
बस्नेतले भने, औषधि तथा खोप क्षेत्रमा मात्र होइन, अन्य धेरै क्षेत्रमा पनि एलडीसी स्तरोन्नतिपछि चुनौती देखिनेछ। त्यसैले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले समयमै ठोस “रिस्क मिटिगेसन” रणनीति तयार गर्नुपर्नेमा उनले जोड दिए।
उनका अनुसार यस्ता परिवर्तनले समग्र व्यावसायिक वातावरण र उपभोक्ताको क्रयशक्तिमा समेत प्रभाव पार्ने भएकाले नीति निर्माण तहले गम्भीर रूपमा सोच्नुपर्ने समय आएको छ।
