काठमाडौँस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ।
पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २०० रनको योगफल बनायो। नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको उत्कृष्ट इनिङ खेले। उनले ९० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे।
अन्य ब्याटरमध्ये कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन, करण केसीले २२ रन तथा आरिफ शेख र सोमपाल कामीले समान १५–१५ रनको योगदान दिए। सुरुआतमा कमजोर प्रदर्शन गरेको नेपालका लागि आसिफ शेख ७ रनमा र कप्तान रोहित पौडेल २ रनमै आउट भएका थिए। भीम सार्कीले १० रन जोडे।
यूएईका बलरमध्ये जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान ३–३ विकेट लिएर नेपाललाई दबाबमा राख्ने प्रयास गरेका थिए।
जवाफमा २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १६३ रनमै समेटियो। यूएईका हरप्रित सिंहले ३९ रन, मुहम्मद वसिमले ३४ रन र अक्षदीप नाथले ३० रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन्।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै यूएईलाई दबाबमा राखे। करण केसीले सर्वाधिक ४ विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिए। दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिए।
कसिलो बलिङ र सन्तुलित ब्याटिङ प्रदर्शनका कारण नेपालले खेलमा नियन्त्रण कायम गर्दै महत्वपूर्ण जित हात पारेको हो।
