सीमावर्ती भारतीय बजार रक्सौलबाट क्वारेन्टिन जाँचबिनै ताजा तरकारी तथा फलफूल लुकीछिपी वीरगन्ज भित्रिने क्रम बढेको छ। पर्सा र बारा जिल्लासँग जोडिएका खुला नाकाहरूको फाइदा उठाउँदै दैनिक साइकलमार्फत ठूलो मात्रामा कृषि उपज अवैध रूपमा आयात हुने गरेको स्थानीय स्रोतहरूले बताएका छन्।
विशेषगरी वीरगन्ज महानगरको नगवा, इनर्वा तथा बाराको विश्रामपुर गाउँपालिका आसपासका खुला सीमाक्षेत्रबाट ‘क्यारिङ’ गर्ने साइकल चालकहरू बिहानैदेखि तरकारी र फलफूल बोकेर बजारसम्म ल्याउने गरेका छन्। यसरी भित्रिने वस्तुहरू भन्सार प्रक्रिया तथा क्वारेन्टिन जाँचबिनै बजारमा पुग्दा उपभोक्ता स्वास्थ्यमा जोखिम बढेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
स्थानीय प्रशासनले भने नियमविपरीत क्वारेन्टिन जाँचबिनै कुनै पनि कृषि उपज भित्र्याउन नपाइने स्पष्ट पारेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आवश्यक अनुगमन गरेर अवैध रूपमा भित्रिने वस्तु नियन्त्रणमा लिइने बताए।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका प्रमुख एसपी मोहनबहादुर क्षेत्रीका अनुसार पर्सा भन्दा पनि बाराको विश्रामपुरसँग जोडिएको सीमावर्ती क्षेत्रबाट यस्ता गतिविधि बढी हुने गरेको छ, जसलाई नियन्त्रण गर्न निगरानी बढाइएको छ।
तर प्रशासन र सुरक्षाप्रहरीको दाबीबीच पनि खुला सीमाको फाइदा उठाउँदै भइरहेको यस्तो अवैध आयातले दीर्घकालीन रूपमा जनस्वास्थ्य र बजार व्यवस्थापन दुवैमा चुनौती थपिएको देखिन्छ।
