प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको झन्डै दुई महिना पुग्न लाग्दा पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन। संस्थापन पक्ष र इतर पक्षबीच सहमति नजुटेपछि शुक्रबारका लागि तय गरिएको निर्वाचन अन्तिम समयमा स्थगित भएको हो।
सहमति जुटाउने उद्देश्यसहित भएको प्रयास असफल भएपछि पार्टीभित्रको आन्तरिक विवाद अझ प्रष्ट देखिएको छ। यसै कारण शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तत्काल निर्वाचन नगर्ने निर्णय गरेको हो।
बैठकले सर्वसम्मत रूपमा दलको नेता चयन गर्नका लागि विशेष वार्ता टोली पनि गठन गरेको छ। उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बनेको उक्त टोलीमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे र निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही सदस्य रहेका छन्।
पार्टीभित्रको सहमति र असहमतिको टकरावका कारण संसदीय दलको नेतृत्व चयनमा ढिलाइ हुँदै जाँदा कांग्रेसको संसदीय गतिविधि र विपक्षी भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ। वार्ता टोलीमार्फत सहमति जुटाएर छिट्टै नेतृत्व टुंग्याउने प्रयास भइरहेको पार्टी स्रोतले जनाएको छ।
