अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव र सम्भावित युद्ध अन्त्यबारे छलफल गर्न पाकिस्तान पठाउन लागिएको अमेरिकी विशेष टोलीको भ्रमण अन्तिम समयमा रद्द गरेका छन्। अमेरिकी विशेष दूत स्टिभ विट्कोफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नरलाई समावेश गरिएको उक्त कूटनीतिक टोली पाकिस्तान जानु “समयको बर्बादी” हुने भन्दै ट्रम्पले निर्णय लिएका हुन्।
बीबीसीका अनुसार, ट्रम्पले टिप्पणी गर्दै “यदि इरान वार्ता गर्न चाहन्छ भने उनीहरूले एक कल गरे पुग्छ” भनेका छन्। यसैबीच, इरानी प्रतिनिधिमण्डल इस्लामावादबाट बाहिरिएपछि यो निर्णय सार्वजनिक भएको हो।
यसअघि इरानी विदेशमन्त्री अब्बास अराक्चीले मध्यस्थकर्ता पाकिस्तानसँग वार्ता गरेका थिए। वार्तापछि उनले इरानले युद्ध अन्त्यका लागि आफ्नो अडान स्पष्ट राखेको बताउँदै, अमेरिका कूटनीतिक प्रक्रियाप्रति कत्तिको गम्भीर छ भन्ने अझै स्पष्ट नभएको प्रतिक्रिया दिएका थिए।
अप्रिल २२ मा समाप्त हुने भनिएको युद्धविरामलाई ट्रम्प प्रशासनले वार्ताका लागि थप समय दिने भन्दै विस्तार गरे पनि हाल कूटनीतिक प्रयासहरू ठप्प जस्तै बनेका छन्।
गत फेब्रुअरीदेखि अमेरिका र इजरायलले बढाएको दबाबबीच इरानले विश्वको प्रमुख तेल आपूर्ति मार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध पुर्याउँदै आएको छ। यस जलमार्गबाट विश्व तेल आपूर्तिको ठूलो हिस्सा प्रवाह हुने भएकाले यसको नियन्त्रणलाई रणनीतिक रूपमा अत्यन्त संवेदनशील मानिन्छ।
इरानको आणविक कार्यक्रम र उक्त सामुद्रिक मार्गमा बढ्दो तनावका कारण अमेरिका–इरान सम्बन्ध थप जटिल बन्दै गएको छ। अमेरिकाले इरानी तेल निर्यात रोक्ने उद्देश्यले क्षेत्रमा आफ्नो नौसैनिक उपस्थिति समेत बढाएको छ।
ह्वाइट हाउसले इरान वार्ताका लागि इच्छुक रहेको दाबी गरे पनि तेहरानले भने हाल कुनै प्रत्यक्ष भेटवार्ताको योजना नरहेको स्पष्ट पारेको छ।
