काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघची ले पाकिस्तानको इस्लामाबाद भ्रमणका क्रममा पाकिस्तानका सेना प्रमुख आसिम मुनीर सँग भेटवार्ता गरेका छन्। यो भेटलाई क्षेत्रीय कूटनीतिक सन्तुलनका हिसाबले महत्वपूर्ण रूपमा हेरिएको छ।
अमेरिका र इरानबीच क्षेत्रीय स्तरमा वार्ता प्रयास भइरहेका बेला भएको यो भेटले कूटनीतिक गतिविधि थप सक्रिय बनेको संकेत दिएको छ। पाकिस्तानले दुवै देशबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको बताइएको छ।
विदेशमन्त्री अराघची शुक्रबार राति इस्लामाबाद पुगेका थिए। उनकाे भ्रमणलाई हालको संवेदनशील कूटनीतिक वातावरणमा विशेष महत्व दिइएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले आफ्ना विशेष दूत स्टीभ विटकफ र ज्वाइँ जेरेड कुशनरलाई पाकिस्तान पठाएको जानकारी सार्वजनिक भएको छ। उनीहरू आज इस्लामाबाद पुग्ने बताइएको छ।
यस पटक अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान नगएको भए पनि आवश्यक परे उनलाई इस्लामाबाद पठाउन तयारी अवस्थामा राखिएको उल्लेख गरिएको छ।
यता, संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ यस वार्तामा सहभागी नहुने भएका छन्। उनी यसअघि भएको प्रारम्भिक अमेरिका–इरान वार्तामा प्रतिनिधिमण्डलको नेतृत्वमा रहेका थिए।
ह्वाइट हाउसले अमेरिकी टोलीले पाकिस्तानमा इरानसँग प्रत्यक्ष शान्ति वार्ता गर्ने जनाएको छ। तर इरानले भने यस्तो कुनै प्रत्यक्ष बैठक तय नभएको स्पष्ट पारेको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघईले इरानले आफ्ना धारणा पाकिस्तानका अधिकारीमार्फत मात्र अमेरिकासम्म पुर्याउने बताएका छन्। यसले वार्ता भए पनि प्रत्यक्ष नभई मध्यस्थतामार्फत हुने संकेत दिएको छ।
