काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल ले कूटनीतिक आचारसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्धलाई व्यवस्थित र मर्यादित बनाउने दिशामा सरकार सक्रिय रहेको बताएका छन्।
शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० द्वारा मनमैजुमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले कूटनीतिक आचरण सबै सार्वजनिक पदधारण गरेका व्यक्तिमा समान रूपमा लागू हुनुपर्ने धारणा राखे।
उनले प्रधानमन्त्री, मन्त्रीदेखि अन्य उच्च पदस्थ व्यक्तिसम्म सबैलाई कूटनीतिक आचारसंहिता पालनामा बाध्यकारी बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। यसका लागि आवश्यक तालिम तथा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको जानकारी दिए।
‘प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण समान रूपमा लागू गर्नका लागि हामीले तालिमको व्यवस्था गरेका छौं,’ उनले भने, ‘कूटनीतिक नियम सबैले पालना गर्नुपर्छ।’
मन्त्री खनालले वर्तमान सरकारले सुशासन र आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि दाबी गरे। उनले नीति र व्यवहार दुवैमा सुधार ल्याउने प्रयास भइरहेको उल्लेख गरे।
उनका अनुसार सरकार राष्ट्रिय स्वतन्त्र पार्टी को वाचापत्रअनुसार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै अघि बढिरहेको छ।
कार्यक्रममा सहभागीहरूले कूटनीतिक आचरण र सुशासनका विषयमा चासो व्यक्त गर्दै सरकारको पहललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिएका थिए।
