१२ वैशाख, काठमाडौं । सरकारले शनिबार बिहानदेखि काठमाडौँ उपत्यकाका मुख्य सुकुमवासी बस्तीहरू खाली गराउने अभियान सुरु गरेको छ। विशेषगरी थापाथलीस्थित बागमती नदी आसपासका बस्तीमा यो प्रक्रिया तीव्र रूपमा अघि बढाइएको हो।
सरकारको पहलसँगै प्रभावित सुकुमवासीहरू पनि सम्पर्कमा आउन थालेका छन्। शनिबार बिहान ११ बजेसम्ममा केही परिवारहरूले सरकारी टोलीसँग समन्वय गर्न थालेका हुन्।
दिउँसो १ बजेसम्म २२ परिवारका सदस्यहरू आफूहरू घरवारविहीन भएको जानकारी गराउँदै सरकारको सम्पर्कमा आएका छन्। उनीहरूले आफ्नो परिवारसम्बन्धी विवरण सरकारी टोलीलाई उपलब्ध गराएका छन्।
हाल सरकारी टोलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा सुकुमवासीहरूको विस्तृत विवरण संकलन गरिरहेको छ। यस कार्यका लागि छुट्टाछुट्टै डेस्क स्थापना गरिएको छ।
विवरण संकलनपछि प्रभावित परिवारहरूलाई कीर्तिपुरस्थित राधास्वामी आश्रम मा अस्थायी रूपमा सार्ने तयारी गरिएको छ।
यस प्रक्रियामा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा काठमाडौं उपत्यका विकास प्राधिकरण लगायतका निकायहरू सक्रिय रूपमा संलग्न छन्। उनीहरूले सुकुमवासीहरूको पहिचान, वर्गीकरण र ‘स्क्रिनिङ’ प्रक्रिया अगाडि बढाइरहेका छन्।
सरकारले व्यवस्थित बसोबास तथा बागमती नदी क्षेत्र संरक्षणलाई लक्षित गर्दै यो अभियान सञ्चालन गरिएको जनाएको छ, भने प्रभावित परिवारको व्यवस्थापनका लागि थप योजना पनि तयार पारिने संकेत गरिएको छ।
