काठमाडौँ । बंगलादेशस्थित नेपाली दूतावासले नेपाल र बंगलादेशबीचको आर्थिक साझेदारीलाई थप मजबुत बनाउने उद्देश्यले गहन छलफल गरेको छ।
शुक्रबार आयोजित ‘नेपाल–बंगलादेश सम्बन्धः आर्थिक सहयोग अभिवृद्धि’ विषयक कार्यक्रममा दुई देशबीचका बहुआयामिक सम्बन्धका विभिन्न पक्षबारे विस्तृत छलफल गरिएको हो। कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले नेपाल–बंगलादेशबीच व्यापार, पारवहन (ट्रान्जिट), ऊर्जा, कनेक्टिभिटी, शिक्षा तथा पर्यटन क्षेत्रमा रहेका सम्भावनाहरूको चर्चा गरे। उनले यी क्षेत्रहरूमा सहकार्य विस्तार गर्दै आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन सकिने उल्लेख गरे।
राजदूत भण्डारीले विशेषगरी निजी क्षेत्रबीचको सहकार्यलाई सुदृढ बनाउनु आवश्यक रहेको औँल्याउँदै बंगलादेशी व्यवसायीहरूको सक्रियताले द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
कार्यक्रममा दूतावासकी प्रथम सचिव योजना बमजनले दुई देशबीच आर्थिक सहयोगका प्रमुख क्षेत्रहरू समेटिएको प्रस्तुति दिइन्। उनले व्यापार, कनेक्टिभिटी, ऊर्जा र पर्यटन क्षेत्रमा भएका प्रगति तथा आगामी सहकार्यका सम्भावनाहरूबारे प्रकाश पारिन्।
अन्तरक्रियात्मक सत्रमा सहभागीहरूले नेपाल–बंगलादेश आर्थिक साझेदारीलाई अझ प्रभावकारी बनाउन आवश्यक रणनीतिहरूबारे आफ्ना धारणा राखेका थिए। उनीहरूले पारस्परिक लाभका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
दूतावासले यस्ता कार्यक्रममार्फत दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक विकासका नयाँ अवसरहरू खोज्ने प्रयास जारी राख्ने जनाएको छ।
