इलाम । इलाम नगरपालिकास्थित इलाम अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ आकस्मिक कक्ष (इमर्जेन्सी ब्लक) निर्माण प्रक्रिया सुरु भएको छ। कोशी प्रदेशअन्तर्गत इलाम नगरपालिका–७ मा निर्माण हुन लागेको उक्त भवनको शुक्रबार एक विशेष समारोहबीच शिलान्यास गरिएको हो।
काठमाडौँस्थित भारतीय दूतावासकी काउन्सिलर गीताञ्जली ब्रान्डन र इलाम नगरपालिकाका मेयर केदार थापाले संयुक्त रूपमा जगको ढुङ्गा राख्दै निर्माण कार्यको शुभारम्भ गरेका हुन्। भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको यस परियोजनाले इलामसहित आसपासका क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास गरिएको छ।
इलाम अस्पतालको नयाँ आकस्मिक कक्ष करिब ९ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण हुने जनाइएको छ। यो परियोजना ‘उच्च प्रभाव सामुदायिक विकास आयोजना’ अन्तर्गत सञ्चालन गरिनेछ, जसको कार्यान्वयन तथा अनुगमन इलाम नगरपालिकाले गर्नेछ। आधुनिक उपकरण र पर्याप्त पूर्वाधारसहितको यस ब्लकले अस्पतालको आकस्मिक सेवामा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा मेयर केदार थापाले भारत सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ संरचनाले बिरामीहरूलाई आकस्मिक उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम हुने बताए।
कार्यक्रममा भारतीय दूतावासकी प्रतिनिधि ब्रान्डनले नेपाल र भारतबीचको घनिष्ठ र बहुआयामिक सम्बन्धलाई उल्लेख गर्दै नेपालको विकास प्राथमिकतामा सहयोग गर्न भारत सधैँ प्रतिबद्ध रहेको बताइन्।
