काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूको संख्या बढ्दै गएको पाइएको छ। बितेका २४ घण्टामा मात्र दुई हजार ९०३ जना सवारी चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु २५ लाख ५६ हजार राजस्व संकलन भएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १२७ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने २८१ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने २०० जना र तीव्र गतिमा सवारी चलाउने १७६ जनालाई कारबाही गरिएको छ।
त्यसैगरी, ‘लेन’ अनुशासन उल्लङ्घन गर्ने ३१२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६५ जना, निर्धारित स्थानबाहेक यात्रु चढाउने तथा ओराल्ने ७४ जना र अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार ४९९ जनामाथि समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सवारी चालकहरूलाई नियमको पालना गर्न आग्रह गर्दै सुरक्षित र व्यवस्थित यातायातका लागि सचेतना बढाउन आवश्यक रहेको जनाएको छ।
